काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दीपक कुमार धूतलाई नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २८ गते बसेको ४२ औँ बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो ।
निवर्तमान डिसीईओ योगेश कृष्ण श्रेष्ठ उमेर हदका कारण सेवा निवृत्त भएपछि रिक्त रहेको यस पदमा धूतलाई बढुवा गरिएको हो। यसअघि उनी कम्पनीमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए।
त्रि दशकभन्दा बढी समयदेखि नेपालको निर्जीवन बीमा क्षेत्रमा अनवरत रुपमा सक्रिय धूत अनुभवी बीमाकर्मीका रुपमा परिचित छन्। उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डियाका फेलो मेम्बर समेत हुन्। शैक्षिक रुपमा, उनले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बजार व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
त्यसैगरी, धूतले यूएनडीपीबाट इन्क्लुसिभ इन्स्योरेन्स सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षकको उपाधि पनि प्राप्त गरेका छन् । उनको नियुक्तिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नेतृत्व पङ्क्ति थप सशक्त बन्ने विश्वास गरिएको छ ।



