सिरहा । साहित्य, समाज र संस्कृतिको त्रिवेणीका रूपमा सिरहाको कर्जन्हा नगरपालिका बन्दिपुरस्थित बाबातालमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। छठ पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदानका साथै वरिष्ठ साहित्यकार तथा शिक्षाविद् प्रा. डा. रामप्रसाद दाहालद्वारा लिखित समालोचनात्मक कृति ‘जोडिएका कुरा’ को सामूहिक गृह विमोचन गरिएको हो। यस कार्यक्रमले स्थानीय साहित्यप्रेमी, बुद्धिजीवी र जनप्रतिनिधिहरूलाई एकै ठाउँमा जोडेको थियो।
वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद दाहालको ‘जोडिएका कुरा’ कृति विमोचन समारोहको मुख्य आकर्षण थियो। मधेस प्रदेशका बुढ्यौली साहित्य समाजका अध्यक्ष गणेशकुमार अधिकारी र साहित्यकार विदुर निरौलाले कृतिका विभिन्न आयाममाथि प्रकाश पार्दै गहन टिप्पणी प्रस्तुत गरेका थिए। कृतिका लेखक डा. दाहालले आफ्नो सिर्जनाको प्रेरणा र भित्री पाटोको व्याख्या गर्दै आयोजक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा संविधानविद् काशीराज दाहालले बाबातालको विकास निर्माण र संरक्षणका विभिन्न पाटाबारे चर्चा गर्दै यस कार्यमा खटिएका सबैलाई धन्यवाद दिए। वडा नं. १ का अध्यक्ष फणिन्द्र पोख्रेलले यस प्रकारको साहित्यिक कार्यक्रम आफ्नो वडामा आयोजना हुनु गौरवको विषय भएको धारणा राखे।
वडा नं. २ का अध्यक्ष जगन्नाथ यादवले आफ्ना पिता परशुराम दाहालको योगदानको स्मरण गर्दै कमला कुलो सिँचाइमा उहाँले पुर्याएको योगदान र पीपल चौतारीको महत्त्वबारे चर्चा गरे। उनले योग्य पुत्रहरू डा. रामप्रसाद दाहाल र काशीराज दाहालका कारण कर्जन्हा नगरपालिकाले उचाइ प्राप्त गरेकोमा प्रशंसा व्यक्त गरे।
कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी श्रेष्ठले डा. दाहालका यसअघिका कृति ‘बोल्दैन फोटो’ को पनि विमोचन गरेको स्मरण गर्दै रामप्रसाद दाहाल र काशीराज दाहालजस्ता विद्वान् तथा देशप्रेमी व्यक्तित्वहरू पाउनु नगरका लागि सौभाग्य भएको बताइन्। मेयर भोला पोख्रेलले नगरको वस्तुस्थिति र विकासमा विद्वान्हरूको योगदानको उच्च मूल्याङ्कन गरे। उनले रामप्रसाद दाहाल र काशीराज दाहाललाई नगरको अमूल्य निधि भन्दै उहाँहरूले स्वदेश तथा विदेशमा नाम कमाउन सफल भएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा समाजसेवी भोला दाहाल, बैङ्कर केशवप्रसाद दाहाल, जनप्रतिनिधि कोपिला कोइराला, सावित्रा अधिकारी, किरण काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए। स्थानीय बुद्धिजीवी, सुरक्षा निकायका प्रमुखलगायत सयौँको सङ्ख्यामा उपस्थित रहेको यस कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो। बाबाताल संरक्षण समितिले प्रायोजन गरेको यस कार्यक्रम कर्जन्हा नगरपालिकाका मेयर भोला पोख्रेलको प्रमुख आतिथ्य, वडा अध्यक्ष जगन्नाथ यादवको सभापतित्व र फूलकुमारी राष्ट्रिय माविका प्रधानाध्यापक भानुप्रसाद गौतमको उद्घोषणमा सम्पन्न भएको थियो।



