काठमाडौं । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओली कुटी’ बन्ने भएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमै अध्यक्ष ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको घोषणा गरेका हुन् ।
बस्नेतले भक्तपुरका स्थानीयले आफ्नै पहलमा घर बनाउन थालेको जानकारी दिए । उनले आफू संयोजकको भूमिकामा रहने बताए । ‘ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर प्रश्न गर्दै उनले अहिले नै फोटो संकलन सुरु भइसकेको जानकारी दिए । बस्नेतले यसका लागि देशभरबाट सुझाव र समर्थन बढिरहेको बताए ।
निवर्तमान प्रधानमन्त्री ओली संविधान दिवसका दिन भक्तपुरको गुण्डुमा भाडाको घरमा बसाइँ सरेका छन् । जेनजी आन्दोलनकारीले जलाइदिएको घर हेर्न बुधबार बालकोट पुगेका ओलीले पनि जलेको घर मर्मत नगरिने बताए । ओलीले बालकोट निवास आफ्नो निधनपश्चात् संग्रहालयका रूपमा राज्यलाई दिने गरी पास भइसकेको स्मरण गराए ।
उनले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताए । ‘हामीले यी घर आफ्नो नामबाट राजीनामा पास गरिदिसकेका थियौँ । हाम्रो निजी सम्पत्तिका रूपमा यी थिएनन् । हामी बाँचिन्जेलसम्म निकाल्न नपाउने गरी बसेका थियौँ । हाम्रो निधनपछि यो सम्पत्ति सार्वजनिक हुन्थ्यो,’ उनले भने, ‘हामीले यहाँको केही पनि चलाउने गरेका थिएनौँ । जसले क्षति गर्यो उसले दण्डित हुनुपर्छ । यो त राज्यको क्षति हो ।’
अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका थिए । ओलीले जेनजीको आन्दोलनको नाममा गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे ।
ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन् । तर, अब त्यो सपना खरानीमा परिणत भएको उनको गुनासो थियो ।




