काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको ‘जेनजी आन्दोलन’लाई ऐतिहासिक मोडमा पुर्याउने तयारी भइरहेको छ । सरकार र आन्दोलनकारी जेनजी समूहहरूबीच विस्तृत सम्झौता हुने निश्चित भएको हो ।
जेनजी आन्दोलनको दस्तावेजीकरण र कार्यान्वयनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गरिनेछ । २०६३ सालमा विस्तृत शान्ति सम्झौता गरिएजस्तै अहिले सरकार र जेनजी समूहहरू सम्झौता हुने तयारी भइरहेको छ । हाल विभिन्न जेनजी समूहहरूसँग अनौपचारिक छलफल जारी छ । केही दिनभित्रै औपचारिक वार्ताको आयोजना गरी सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइनेछ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजीहरूसँगको संवाद र छलफलको संयोजन गरिरहेका छन् । औपचारिक वार्ता सफल भएमा छिट्टै राष्ट्रपति भवन शीतल निवासमा एक भव्य समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
गत असोज २५ गते राष्ट्रपति भवन शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग सरकारले प्रारम्भिक छलफल आयोजना गरेको थियो । राष्ट्रपति पौडेलको अस्वस्थताका कारण उक्त दिन प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूसँग मात्र छलफल सम्भव भएको थियो । राष्ट्रपति अस्पतालबाट फर्किएपछि असोज ३० गते पुनः शीतल निवासमै दोस्रो चरणको वार्ता भएको थियो । यस छलफलमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । जेनजी, घाइते र सहिद परिवारका १६ जना प्रतिनिधिले आन्दोलनकारी पक्षको प्रतिनिधित्व गरेका थिए ।
अबेर रातिसम्म चलेको सो छलफलमा जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको वैधानिकताका लागि लिखित सम्झौता अनिवार्य रहेकोमा जोड दिएका थिए । आफूहरूलाई ‘आतंककारी’ भन्न थालिएकोमा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष गुनासो व्यक्त गरेका थिए । ‘हाम्रो आन्दोलनको वैधताका लागि सम्झौता हुनैपर्यो । यत्रो रगत बगाएका छौँ, तर अहिले पुराना दल, संगठन र भ्रष्ट नेताहरूबाट आक्रमण बढ्न थाल्यो । हाम्रो बलिदानीको अवमूल्यन भइरहेको छ,’ जेनजी प्रतिनिधिहरूले भनेका थिए, ‘आन्दोलनलाई अपमान गर्ने र आतंककारी भन्नेहरूको स्वर चर्को हुँदै छ । यस्तो अवस्थामा सम्झौता हुनैपर्छ, नत्र चुनाव पनि हुन सक्दैन ।’
राष्ट्रपतिको आश्वासन र प्रधानमन्त्रीको प्रतिबद्धता
जेनजीहरूको गुनासो सुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई आश्वस्त पार्दै आन्दोलनले वैधानिकता पाइसकेको तर्क गरेका थिए । ‘सम्झौता सबै लिखित मात्रै हुँदैन । तपाईंहरूकै आन्दोलनको जगमा संसद्, सरकार सबै गयो। दलका नेताहरू पद छाड्न तयार भएका छन् । यो भनेको नै आन्दोलनले वैद्यता पाएको हो,’ राष्ट्रपतिले भनेका थिए, ‘म यो उमेरमा यति रातिसम्म तपाईंहरूकै लागि छलफल गरिरहेको छु । प्रधानमन्त्रीज्यू र सिंगो मन्त्रिमण्डल यहाँ छ । तपाईंहरूले जित्नुभएको छ ।’
राष्ट्रपतिले सुशीला कार्कीजस्तो निष्कलंक, निष्ठावान् र सर्वस्वीकार्य प्रधानमन्त्री पाउनु पनि आन्दोलनको ठूलो उपलब्धि भएको बताएका थिए । उनले प्रधानमन्त्री कार्की र उनको परिवारले लोकतान्त्रिक क्रान्तिका लागि पुर्याएको योगदानको पनि चर्चा गरे । प्रधानमन्त्री कार्कीले जेनजीका माग सम्बोधन गर्न सरकार सधैँ इमानदार रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । गृहमन्त्री अर्यालले जेनजीसँग थप संवाद र सम्पर्कका लागि प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललाई जिम्मेवारी दिइएको जानकारी गराएका थिए । खनालले विभिन्न समूहमा छरिएर रहेका आधा दर्जनभन्दा बढी जेनजी समूहहरूसँग छलफल र संवादलाई तीव्रता दिएका छन् ।
सम्झौताका विषयवस्तु के हुने ?
सम्झौतामा समावेश गरिने विषयवस्तु भने अझै अन्तिम टुंगो लाग्न बाँकी रहेको एक मन्त्रीले बताएका छन् । मस्यौदाका लागि गृहकार्य भइरहेको छ । विभिन्न फरक-फरक समूहका व्यक्तिहरू जेनजी अगुवाका रूपमा देखा परेकाले सरकारले वास्तविक आन्दोलनको अग्रमोर्चामा रहेका जेनजीहरूसँग औपचारिकता खोजेको छ ।
सुरक्षा निकायहरूले जेनजीका आवरणमा करिब २५ वटा समूहले राजनीतिक र गैरराजनीतिक प्रकृतिका गतिविधि गरिरहेको प्रतिवेदन सरकारलाई बुझाएका छन् । ‘चाँडै केही दिनमै यो सम्झौता हुन्छ । सहिद परिवार, घाइते र अग्रमोर्चामा खटिएका वास्तविक जेनजीहरू सरकारसँग टाढिनु हुँदैन,’ ती मन्त्रीले भने, ‘जेनजीको माग पूरा गर्न र दस्तावेजीकरण गर्न पनि सम्झौता गर्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको छ ।’




