काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेज, बानेश्वरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । करिब १०० जना साहित्यकारहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको यस कार्यक्रमले महाकविको बहुआयामिक व्यक्तित्वलाई स्मरण गरिएको हो ।
कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद दाहालले गरे भने वरिष्ठ साहित्यकार रोचक घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रममा वक्ताहरूले देवकोटाको व्यक्तित्वका विभिन्न पाटोहरूमाथि प्रकाश पा रे। उनलाई केवल कवि मात्र नभई एक युगद्रष्टा, दार्शनिक र समाज सुधारकका रूपमा चित्रण गरे ।
वक्ताका रूपमा वरिष्ठ समालोचक युवराज मैनाली, समालोचक डा. नन्दिश अधिकारी, नियात्राकार जयाछाङ्छा राई, समालोचक माधव घिमिरे, कोपिला कोइराला, सानू घले, संविधानविद् काशीराज दाहाल, इतिहासविद् दिनेशराज पन्त र सविन पोख्रेलले देवकोटाका कृति र योगदानमाथि गहिरो चर्चा गरे ।
कार्यक्रममा वरिष्ठ कविहरू कलानिधि दाहाल, निर्मल पराजुली, अन्जन ढुङ्गेल, मुकुन्दराज दाहाल र उपेन्द्र काफ्लेले समसामयिक तथा सान्दर्भिक कविता वाचन गरे । यसैगरी, जेन्जी पुस्ताका कविहरू जमुना बस्नेत, रेनुका कडेल, गङ्गा बस्नेत, शर्मिला कार्की, इशु शाह र कल्पना कटुवालले देवकोटा सम्बन्धी कविताहरू प्रस्तुत गरी महाकविलाई श्रद्धाञ्जलि अर्पण गरे । लक्ष्मीपूजाको दिन परेकोले सांस्कृतिक महत्त्वलाई दर्शाउँदै कलेजका छात्राहरूले भैली खेलेर तिहारको उल्लास थपे ।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट कवि छात्राहरूलाई सभापति दाहाल र प्रमुख अतिथि घिमिरेले पुरस्कार वितरण गरे । पुरस्कार वितरणपश्चात् साहित्यकार रोचक घिमिरेले देवकोटालाई राज्य वा सरकारले नभई जनस्तरबाटै महाकवि भएको बताए । उनले अनुसन्धानात्मक समालोचक ईश्वर बरालले पहिलो चोटि लेखमा महाकवि लेखेको व्याख्या गरे । कार्यक्रममा तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।




