काठमाडौं । हिमालयन बैंकले आफ्ना दैनिक कार्य सञ्चालनमा प्रयोग हुने मुख्य सफ्टवेयर प्रणालीको स्तरोन्नति गर्ने भएको छ। यसका लागि बैंकले आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म अधिकांश बैंकिङ सेवाहरू बन्द रहने जानकारी दिएको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै यस अवधिमा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा याचना गरेको छ । यस महत्त्वपूर्ण प्रणालीगत परिवर्तनले भविष्यमा अझ तीव्र र प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुग्ने बैंकले बताएको छ ।
सफ्टवेयर परिवर्तनको अवधिमा पनि ग्राहकहरूका लागि केही अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालनमा रहनेछन् । बैंकका अनुसार, यस अवधिमा एटीएम, पस (POS) मेसिन, क्यूआर (QR) मार्फत् गरिने भुक्तानी र ई-कमर्श सेवाहरू सामान्य रूपमा चल्नेछन् । यसले ग्राहकहरूलाई नगद निकाल्न र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सहज हुनेछ ।
सफ्टवेयर स्तरोन्नतिको क्रममा बैंकका सबै कार्यालय र काउन्टर सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन् । यसको अर्थ ग्राहकहरूले नगद जम्मा गर्न, चेक साट्न वा अन्य काउन्टर सम्बन्धी कुनै पनि काम गर्न सक्ने छैनन् । त्यस्तै, कर्जा जारी गर्ने लगायतका सबै प्रकारका वित्तीय कारोबारहरू पनि यस अवधिमा बन्द रहनेछन् । यद्यपि, ग्राहकहरूले नगद जम्मा गर्नका लागि विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।




