काठमाडौँ । पछिल्लो समय नेपालको बैंकिङ्ग प्रणालीमा डिजिटल बैंकिङ्ग अर्थात् भौतिक रूपमा उपस्थित नभईकनै आधुनिक प्रविधिको उपयोग गरेर गरिने कारोबार गर्ने बैंकिङ्ग प्रणालीको तीव्र विकास भइरहेको छ । पहिले बैंकिङ्ग कारोबार गर्न बैंकको शाखामै गएर घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो, जुन अब लगभग अन्त्य भएको छ ।
अब बैङ्कहरू परम्परागत रूपमा चल्दै आएको बैंकिङ्ग प्रणालीलाई आधुनिक प्रविधिले प्रतिस्थापन गर्न र डिजिटल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसो त, कोभिड महामारीको समयमा बैङ्कहरूले आफ्ना सेवाग्राहीलाई सहज र सुरक्षित सेवा दिन डिजिटल माध्यमलाई बढी अपनाइएको थियो । त्यसमध्येको सिद्धार्थ बैङ्क पनि एक हो ।
यस बैंकले हाल डिजिटल सेवामा जोड दिइरहेको छ । सोही प्रयास अन्तर्गत सिद्धार्थले अब आफ्ना ग्राहकलाई ‘इजि बैङ्क’ नामक अनलाइन प्लेटफर्म मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । डिजिटल पद्धतिको बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले करिब ४ वर्ष अघि सार्वजनिक गरेको ‘इजी बैङ्क’ प्लेटफर्ममा ग्राहकको आवश्यकता अनुसार थप सेवाहरू समावेश गर्दै लगिएको बैंकले जनाएको छ ।
‘डिजिटल नेपाल’ अभियानलाई समर्थन गर्दै ल्याइएको यो सेवा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल एप ‘Siddhartha Banksmart XP’ मार्फत प्रयोग गर्न सकिने बैंकले बताएको छ । यस प्लेटफर्मको उपयोग गरेर ग्राहकले घरैमा बसी बसी विभिन्न बैंकिङ्ग सेवा अनलाइनमार्फत सजिलै प्राप्त गर्न सक्छन् । यसमा सजिलो कुरा त के छ भने इजी बैङ्क प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा मात्र नभएर ग्राहकले आ–आफ्नो मोबाइल एपमार्फत पनि प्रयोग गर्न सक्ने छन् ।
मोबाइल एप ‘इजि बैङ्क’मा थपिए नयाँ सेवा सुविधा
सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘इजि बैङ्क’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाइसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो ।
उक्त मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैङ्क’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवाहरू देखिन्छन् , ती सेवाहरू निम्न प्रकारका छन् ।
१) खाता विवरण हेर्न मिल्ने
ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैङ्क खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्छन् । यसअन्तर्गत, उनीहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेपजस्ता निक्षेप सम्बन्धी विवरणहरूका साथै, लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण, र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सक्छन् । यसले ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुर्याउँछ ।
२) एपबाटै ऋण १
अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । यसका साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि यसै एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् । त्यस्तै सिद्धार्थ बैंकको इजी बैङ्क मोबाइल एपमार्फत ग्राहकहरूले बैंकको शाखामा नगईकनै सजिलै क्रेडिट कार्ड ऋणको EMI (Equated Monthly Installment) सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्नेछन् ।
३) ग्राहक सेवाको सुविधा
कुनै चेक हराएमा वा रोक्नुपरेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा यसै अन्तर्गत ब्लकको सुविधा लिन सकिनेछ । ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा यहीँबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक पर्ने छैन ।
४) केवाइसी अपडेट
बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेसा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्नेछन् । साथै, ग्राहकले शाखामा उपस्थित नभई यसै माध्यमबाट सुरक्षित र सहज रूपमा नम्बर पनि अद्यावधिक गर्न सक्नेछन् ।
५) कार्डसम्बन्धी सम्पूर्ण सेवा
इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिङ्क गरेर EasyBank सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्नेछन् ।
कम्प्युटरबाट पनि चलाउन मिल्ने
यो एप केवल मोबाइलमा मात्रै होइन, ल्यापटप तथा कम्प्युटरबाट पनि सञ्चालन र यसका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकको वेबसाइट मार्फत ‘लग इन्’ आइकन क्लिक गरी ‘इजि बैङ्क’मा जान सकिन्छ । यसबाट अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ ।
वेबमा के के छन् सुविधा ?
यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटमा अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस गरी ग्राहकले विभिन्न अनलाइन सुविधाहरू एकै ठाउँमा लिन सक्छन् ।
१) अकाउन्ट सर्भिस
यस सेवा अन्तर्गत बैङ्क खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ–अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरण जस्ता सेवा उपलब्ध छन् ।
ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै उक्त खाता सक्रिय भएको हुँदैन । सम्भव भएसम्म एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्छ । तर बैंकले अनलाइबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा दिएको छ । उक्त सुविधा यसै एप मार्फत प्रदान गर्ने बैंकले जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभई घरमै बसी बसी प्यान अपडेट गर्न सकिन्छ भने ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल पनि अनलाइन मार्फत नै प्रमाणीकरण गर्न सकिन्छ ।
२) कार्ड सर्भिस
यस सेवा अन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्य लिएको छ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था समेत गरेको छ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रूपमा बैंकसम्म नपुगीकनै घरैबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । यसका लागि ग्राहकले सुरुमा त बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रूपमा अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस्तै पहिले नै कार्ड लिइसकेका, तर म्याद सकिएका ग्राहकले पनि यस सेवा अन्तर्गत रहेर कार्ड नवीकरण तथा प्रतिस्थापन समेत गर्न सकिने सुविधा बैंकले दिएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुग्छ ।
बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउनलाई बैङ्कद्वारा अपनाइएको यस कदमले ग्राहकको समयको बचत हुनुका साथै थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
३) डिम्याट सर्भिस
यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रूपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । यस निम्ति ग्राहकले बैंकको वेबसाइटमा गई EasyBank >Demat Services >Demat Account_ वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिङ्क मा गई आवश्यक विवरण भर्न सकिनेछ । आइपिओमा आवेदन दिँदा सिआरएन नम्बर भुलेर कहिलेकाहीँ समस्या परिरहेको हुन्छ । सिद्धार्थ बैंकले यसै इजि बैङ्क मार्फत आफ्नो सिआरएन नम्बर हेर्न मिल्ने बनाएको छ ।
यसरी सहज रूपमा अनलाइन मार्फत आवेदन दिन सकिने व्यवस्थाले ग्राहक स्वयम् बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने बैंकले जानकारी दिएको छ । यसले मानिसहरूको अमूल्य समयमात्रै जोगाएको छैन, ग्राहकलाई थप सुविधा पुग्ने विश्वास पनि बैङ्क व्यवस्थापनले लिएको बताइएको छ ।




