सुन तस्करी प्रकरणमा दुई उपाध्यक्ष : महरा पक्राउ, पुन अनुसन्धानको घेरामा

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा तरंग पैदा गर्दै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका परिवार चिनियाँ गिरोहसँगको सुन तस्करी प्रकरणमा मुछिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेसँगै यस हाइ प्रोफाइल केसमा पुनमाथि पनि अनुसन्धान सुरु गरेको हो । यस प्रकरणले माओवादी केन्द्रका दुई शीर्ष नेताहरूलाई एउटै जालोमा जोडेको छ ।

सीआईबीले पुन, उनका दुई छोरा जितेन्द्र र दीपेश, तथा उनी उपराष्ट्रपति हुँदा नियुक्त ‘वैदेशिक मामिला विज्ञ’ जीवन गुरुङविरुद्ध गम्भीर अनुसन्धान अघि बढाएको छ । नेता पुन, जो १४ कात्तिक २०७२ देखि ६ चैत २०७९ सम्म नेपालको उपराष्ट्रपति थिए, उनको कार्यकालमा भएका गतिविधिहरूमाथि अब गहिरो छानबिन हुनेछ ।

पुनका जेठा छोरा जितेन्द्रमाथि हुम्लापारि चिनियाँ भूमि ताक्लाकोटमा ४ किलो सुन तमसुक गरी बुझेको आरोप लागेको छ । १९ असोज २०७६ (६ अक्टोबर २०१९) मा चीनको सेन्जेन प्रस्पर मंकक कम्पनीबाट चार किलो सुन उधारोमा किन्न उनले तमसुक गरेको विवरणहरू सार्वजनिक भएका छन् ।

त्यस्तै, अर्का छोरा दीपेशमाथि असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा संलग्न भएको आरोप छ । सुन जाँचबुझ आयोगले पनि दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धानको लागि सरकारलाई सिफारिस गरेको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणमा समेत आरोपित छन्, जसले गर्दा उनको आपराधिक सञ्जालको दायरा थप फराकिलो देखिएको छ ।

पूर्वउपराष्ट्रपति पुनका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ पनि १९ मंसिर २०८० मा त्रिभुवन विमानस्थलमा बरामद १४ केजी सुन प्रकरणमा मुछिएका थिए । १४ फागुनमा पक्राउ परेका उनी पछि धरौटीमा छुटेका थिए, तर उनको संलग्नतामाथि प्रश्नचिह्न खडा छ ।

यस प्रकरणमा पूर्वसभामुख एवम् माओवादीकै अर्का उपाध्यक्ष कृष्णबहादुर महरा हिजो मात्रै सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएको खुलेको छ ।

त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए। पछि भेप र सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले महरा बाबुछोराको सहयोग लिएको प्रमाणहरू फेला परेका छन् । सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको छ । भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य बाहिर आएको थियो। यसअघि पनि सोही प्रकरणमा पक्राउ परेका महरामाथि सुक्ष्म अनुसन्धान हुन सकेको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री