काठमाडौँ । नेपाली कांग्रेसले एक अथक योद्धा तथा अग्रज व्यक्तित्व राधादेवी कर्णलाई गुमाएको छ। कांग्रेसका पूर्वमहामन्त्री एवं लौहपुरुष स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सुपुत्री राधादेवी कर्णको ८१ वर्षको उमेरमा यही असोज २४ गते निधन भएको छ। उहाँको निधनले नेपाली कांग्रेस पंक्तिमा गहिरो शोक छाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक शोक विज्ञप्ति जारी गर्दै कर्णको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, “नेत्री राधादेवी कर्णको निधनले नेपाली कांग्रेसले एक निडर, अनुभवी र अग्रज व्यक्तित्वलाई गुमाएको छ।”
राधादेवी कर्णले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। विसं २०४६ सालको जनआन्दोलनका क्रममा उहाँका पिता महेन्द्रनारायण निधि जलेश्वरको कारागारमा हुनुहुन्थ्यो भने कान्छो भाइ तथा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि भूमिगत अवस्थामा हुनुहुन्थ्यो। यस्तो विषम परिस्थितिमा पनि उहाँले आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै प्रजातन्त्र प्राप्तिको अभियानमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँको अटल निष्ठा र साहस कांग्रेसका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्री राधादेवी कर्णको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ।
नेपाली कांग्रेसले नेत्री राधादेवी कर्णको त्याग, संघर्ष र निष्ठालाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नेछ। उहाँको निधनले नेपाली राजनीतिमा एक अपूरणीय क्षति पुगेको छ।




