काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बिहीबारदेखि जारी बैठक नेताहरूको बोल्ने क्रम नसकिएपछि निष्कर्षविहीन भएको छ। देशको वर्तमान राजनीतिक गतिरोध र पार्टीको भावी दिशा तय गर्न महत्वपूर्ण मानिएको यो बैठक शनिबार पुनः बस्ने गरी स्थगित गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू समेतको सहभागिताले छलफल लम्बिएको हो। बैठकमा सहभागी एक नेताका अनुसार, मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र राष्ट्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गहन छलफल केन्द्रित छ।
आगामी माघ २६ गते बस्ने पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा साझा धारणा बनाएर जाने उद्देश्यले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच प्रारम्भिक छलफल भइरहेको बुझिएको छ। “कार्यसम्पादन समितिमा रहेका साथीहरू समेत बसौँ भनेर हामी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्यौँ,” ती नेताले भने, “यद्यपि, अझै नेताहरूले बोल्ने क्रम पूरा भएको छैन। केही साथीहरूले बोल्न बाँकी रहेकोले फेरि भोलि बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।”
उनका अनुसार, वर्तमान राष्ट्रिय राजनीतिमा खडा भएको प्रश्न र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा ठोस र समान धारणा बनाउने मुख्य लक्ष्यका साथ छलफल भइरहेको छ। माघ २६ गतेको कार्यसम्पादन समिति बैठकमा समान धारणासहित ठोस निष्कर्षमा पुग्नका लागि यो गृहकार्य र एजेण्डा तय गर्ने छलफल महत्वपूर्ण मानिएको छ।
बैठकमा पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने कि चाँडै गर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। कतिपय नेताहरूले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई सशक्त बनाउन र नयाँ जनादेशका लागि अर्ली महाधिवेशनको आवश्यकता औँल्याएका छन् भने, केही नेताहरूले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्।
यस बैठकले आगामी दिनमा काँग्रेसको राजनीतिक रणनीति र भूमिका कस्तो रहन्छ भन्ने विषयमा महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ। शनिबारको बैठकले पदाधिकारीहरूबीचको मतभिन्नतालाई कम गरी साझा एजेण्डा तय गर्न सफल हुन्छ वा हुँदैन भन्ने कुरा भने हेर्न बाँकी छ




