काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ‘बलमिच्याइँ’का आधारमा गठन भएको र यो ‘नेपालीको नभएको’ गम्भीर आरोप लगाएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार संविधानसम्मत नभएको दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीमाथि कटाक्ष गर्दै, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि एउटा शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’
उनले प्रधानमन्त्री कार्की संविधानभन्दा बाहिर गएर सत्तामा पुग्न फागुन २३ र २४ गते ‘जेन-जी’ बनेर सडकमा उत्रिएको आरोपसमेत लगाए । राष्ट्रपतिले फागुन २१ गते चुनाव गर्न मिति तोकिदिएको स्मरण गराउँदै ओलीले यो सरकारको नियतमाथि प्रश्न उठाए । ‘यो सरकार नेपालीको होइन। अरू कसको हो भन्ने थाहा छैन,’ उनले भने, ‘उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ। पासपोर्ट रोक्ने रे, मैले काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो ?’
ओलीले आफू सुशीला कार्कीको ‘डरले नभाग्ने’ स्पष्ट पारे। उनले वर्तमान गृहमन्त्रीप्रति पनि आक्रामक शैलीमा टिप्पणी गरे । ‘गृहमन्त्रीबारे त मैले उहाँ भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु,’ ओलीले चेतावनी दिँदै भने, ‘राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु ।’




