महेश बस्नेतको प्रश्न- सम्पत्ति शुद्धीकरणको छानबिन रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने कि नगर्ने ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा वर्तमान अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा क्षेत्रका प्रभावशाली व्यक्तित्व कुलमान घिसिङलाई ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले आज आयोजित पत्रकार सम्मेलनमा खनाल र घिसिङमाथि छानबिनको सुरुवात गर्नुपर्ने भन्दै सरकारलाई खुला चुनौती दिएका हुन् ।

बस्नेतले वर्तमान अर्थमन्त्री रामेश्वर खनाल, जो पूर्वसचिवसमेत हुन्, बाटै सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालिनुपर्ने तर्क गरे । ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले प्रश्न गर्दै भने, ‘पूर्वसचिवजस्तो उच्च पदमा रहेका व्यक्तिबाटै छानबिन सुरु गर्दा पारदर्शिताको सन्देश जान्छ ।’

बस्नेतले अर्का प्रभावशाली व्यक्तित्व कुलमान घिसिङमाथि पनि गम्भीर आरोप लगाए । उनले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र संसदीय समितिहरूमा समेत दर्जनौं उजुरीहरू रहेको दाबी गरे । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले प्रश्न गर्दै भने ।

बस्नेतको यो अभिव्यक्तिले सरकारमाथि सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष र प्रभावकारी कदम चाल्न दबाब बढाएको छ । यसले उच्च पदस्थ व्यक्तिहरूमाथि पनि छानबिन हुनुपर्ने जनचाहनालाई प्रतिविम्बित गरेको देखिन्छ । यस विषयमा सरकार र सम्बन्धित निकायको आगामी कदम के हुन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री