सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगमा निर्माण भएको वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनसहभागितामा तोकिएको समयावधिभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण निर्माण गर्न सबै पक्षसँग आग्रह गरेका छन् । उनले यस सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीबाट सरकारको प्रतिबद्धता आइसकेको समेत जानकारी दिए । निर्वाचनको वातावरण बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सहयोगको अपेक्षा व्यक्त गरे ।

“यो ‘जेनजी’ आन्दोलनको जगमा, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ,” सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, “निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।”

मन्त्री खरेलले वर्तमान सरकारका थप कार्यादेशहरू पनि औंल्याए । उनले भने, “यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र ‘जेनजी’ आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री