काठमाडौं । यस वर्षको मनसुनपछिको अविरल वर्षा र त्यसबाट सिर्जित बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो क्षति पुर्याए पनि, सरकारको पूर्वतयारी र आम नागरिकको सतर्कताका कारण मानवीय क्षति न्यून रहेको ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले इलाममा अत्यधिक वर्षाका कारण पहिरोमा परी केही मानवीय क्षति भएको बाहेक अन्यत्र उल्लेखनीय मानवीय क्षति नभएको जानकारी दिए । मन्त्री घिसिङले वर्षातका कारण विशेषगरी भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको स्वीकार गर्दै, त्यसको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ‘सरकारको सतर्कता र पूर्वतयारीका कारण बाढीका कारण मानवीय क्षति भएको छैन । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ, जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्यत्र क्षति भएको छैन,’ उनले स्पष्ट पारे ।
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग, ग्रामीण सडक, पुल, बिजुलीका पोल र अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ । यसले जनजीवन र यातायात आवागमनमा गम्भीर असर पारेको छ । मन्त्री घिसिङले काठमाडौंबाट पश्चिमका सडकहरू तत्काल खोल्नका लागि युद्धस्तरमा काम भइरहेको जानकारी दिए ।
पूर्वी क्षेत्रमा भने अझै वर्षा जारी रहेकाले तत्कालै पूर्णरूपमा सडक सञ्चालन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । ‘पूर्वमा वर्षा जारी छ र भोलिसम्ममा त्यो पनि कम हुनसक्ने हाम्रो अनुमान छ । त्यसपछि पूर्वी भेगका सडकहरू पनि खोल्ने काम तीव्र गतिमा अघि बढ्नेछ,’ मन्त्री घिसिङले भने ।




