घामको न्यानो किरणसँगै काठमाडौंमा फर्कियो चहलपहल

काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानैदेखि काठमाडौंमा मधुरो घाम लागेसँगै उपत्यकावासीको मुहारमा केही राहत देखिएको छ । हिजोको वर्षा र बाढीका कारण विस्थापित भएका सर्वसाधारणहरू आफ्नो घर फर्किन थालेका छन् भने डुबानमा परेका घर तथा पसलहरू सरसफाइ गर्ने क्रम जारी छ ।

हिजो बागमती नदीको सतह अप्रत्याशित रूपमा बढेपछि सुकुम्बासी बस्ती लगायतका तटीय क्षेत्रका बासिन्दा विस्थापित हुन पुगेका थिए । बल्खु, कुलेश्वर लगायतका क्षेत्रका तरकारी बजारबाट पनि सामानहरू सुरक्षित स्थानमा सारिएको थियो । विशेष गरी कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको दृश्यले सबैको मन छोएको थियो । अहिले पनि सुरक्षाकर्मीहरू उद्धार र सरसफाइका कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् ।

मौसमविद्हरूका अनुसार अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताइएको छ । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेकाले उपत्यकाको मौसममा उल्लेख्य सुधार आएको छ । मौसम खराब हुँदा अवरुद्ध भएको आन्तरिक हवाई उडान सेवा आजबाट सुरु गर्ने तयारी गरिएको छ । यसैबीच, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकादेखि नै सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री