त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानहरू सुचारु, पश्चिम जाने गाडी खोल्ने तयारी

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बनेको जनजीवन सामान्यतर्फ फर्कने संकेत देखिएको छ । मौसममा सुधार आएसँगै आन्तरिक हवाई उडान र केही मुख्य सडक मार्गहरू सुचारु गर्ने तयारी गरिएको हो ।

हिजोदेखि बन्द रहेका आन्तरिक हवाई उडानहरू आज बिहानैबाट पुन: सुरु भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल रहेका नेपालगञ्ज, भद्रपुर, पोखरा र सुर्खेतका लागि काठमाडौंबाट उडान भइसकेका छन् । अन्तर्राष्ट्रिय उडान भने हिजो साँझदेखि नै नियमित सञ्चालनमा छन् ।

यसैगरी, सडक मार्ग पनि खोल्ने तयारी सरकारले गरेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने सूचना दिएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक अन्य राजमार्गहरूमा गाडी चलाउन दिने तयारी गरेको छ ।

काठमाडौं-नारायणगढ र काठमाडौं-पोखरा सडक खण्डमा यातायातका साधन सञ्चालन गर्ने तयारी भइरहेको छ । केही स्थानमा रहेका साना पहिरो पन्छाएपछि बाटो खुल्नेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल वर्षा हुने क्रम रोकिएको छ । ठूलो पानी पार्ने प्रणाली मध्यक्षेत्रबाट बाहिरिसकेको र आज दिउँसोबाट पूर्वी क्षेत्रबाट पनि वर्षा गराउने प्रणाली निष्क्रिय हुने सम्भावना रहेको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

सरकारले वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज १८, १९ र २० गतेसम्म तीन दिन काठमाडौं भित्रिन र बाहिरिन रोक लगाएको थियो । तर, पूर्वानुमान गरिएभन्दा छिटो मौसम सफा हुँदै गएकाले पूर्वको तुलनामा पश्चिमतर्फ यातायात सञ्चालनका लागि मौसम अनुकूल बन्दै गएको विभागले जनाएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री