काठमाडौं । उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर सिटीमा भएको एक भीषण आतंकवादी आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । यहुदीहरूको पवित्र योम किपूरका दिन यहुदी प्रार्थनास्थलबाहिर मानिसहरूको भिडमा कारले ठक्कर दिएपछि चक्कु प्रहारसमेत भएको थियो ।
म्यानचेस्टर प्रहरीका अनुसार, यो आक्रमण यहुदीहरूको प्रार्थनास्थलबाहिर बिहीबार भएको थियो । आक्रमणकारीले भीडमा कार हुत्याएका थिए र त्यसपछि एक जनामाथि छुरा प्रहार गरेका थिए । प्रहरीले तत्काल कारबाही गर्दै घटनामा संलग्न एक संदिग्ध व्यक्तिलाई घटनास्थलमै गोली हानेर मारेको छ भने अन्य दुई जनालाई पक्राउ गरेको छ ।
ब्रिटिश प्रधानमन्त्री सर कियर स्टार्मरले यस घटनालाई ‘आतंकवादी आक्रमण’को संज्ञा दिँदै घोर निन्दा गरेका छन् । डेनमार्क भ्रमण छोट्याएर स्वदेश फर्किएका प्रधानमन्त्री स्टार्मरले तत्काल आफ्नै नेतृत्वमा आपतकालीन बैठक बोलाएका छन् । उनले घटनाबारे विस्तृत जानकारी लिँदै अनुसन्धान तीव्र पार्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । साथै, देशका सबै यहुदी प्रार्थनास्थलहरूमा सुरक्षा प्रबन्ध थप चुस्त बनाउनसमेत निर्देशन दिएका छन् ।
प्रहरीले आक्रमणकारीको पहिचान ‘जिहाद अल–शामी’को रूपमा खुलाएको छ । सिरियाली मूलका ३५ वर्षीय बेलायती पुरुष अल–शामीले हिटन पार्क हिब्रु मण्डली प्रार्थनास्थल बाहिर यो जघन्य कार्य गरेका थिए । बीबीसीका अनुसार, प्रहरीले उनलाई घटनास्थलमै गोली हानी मारेको थियो ।




