काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी तथा बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। यसले गर्दा यातायात सेवामा ठूलो बाधा पुगेको छ भने जनजीवन प्रभावित भएको छ ।
नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै कोशी राजमार्गका विभिन्न खण्ड र पासाङ ल्हामु सडक खण्ड अवरुद्ध रहेको जनाएको छ ।
कोशी प्रदेशमा सडक अवरोध:
-
संखुवासभा: भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै अवरुद्ध छ। यसैगरी, मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन ।
बागमती प्रदेशमा सडक अवरोध:
-
रसुवा: गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही गाउँपालिकामा आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड पनि बन्द भएको छ ।
-
सिन्धुपाल्चोक: भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै आज बिहान गएको पहिरोले अरनिको राजमार्गमा पूर्ण अवरोध भएको छ । यसले राजधानी काठमाडौंबाट पूर्वी नाका तातोपानी जाने यातायात सेवा ठप्प पारेको छ ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन र सम्बन्धित सडकको अद्यावधिक जानकारी लिएर मात्र यात्रामा निस्कन आग्रह गरेको छ। सडक विभाग र सुरक्षा निकायहरू अवरुद्ध सडक खुलाउने प्रयासमा जुटेका छन् तर निरन्तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।




