प्रहरी दिवस यस वर्ष ‘शोक’ मा: भोज नभई श्रद्धाञ्जलीमा सीमित

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको प्रहरी दिवस असोज ३१ गते मनाउने भएको छ । प्रत्येक वर्ष असोज मसान्तका दिन मनाइने प्रहरी दिवस यस वर्ष एक विशेष परिस्थितिका कारण फरक ढंगले आयोजना गरिने भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, यस वर्ष अन्य वर्षजस्तो भोज, नाचगानलगायतका औपचारिक कार्यक्रमहरू नहुने भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले मानवस्रोत विभागका एआईजी राजन अधिकारीको अध्यक्षतामा गठन गरेको समारोह समितिले जनाएअनुसार, सिंगो देश र स्वयं प्रहरी संगठन हाल शोक र सन्तापमा रहेको अवस्थालाई मध्यनजर गर्दै यसपटक अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण र प्रभातफेरी कार्यक्रममा मात्रै सीमित गरिने भएको छ । हालैका जेनजी आन्दोलनका क्रममा प्रहरीका कार्यालय, आवास, मेष, शौचालय तथा बन्दोबस्तीका सामानमा ठूलो मात्रामा क्षति पुगेको छ । यसका साथै, केही प्रहरीले ज्यान गुमाएका छन् भने थुप्रै घाइते, अपांग र अशक्त भएका छन् । यस्तो विषम परिस्थितिमा खर्च कटौती गर्नुपर्ने आवश्यकता महसुस गर्दै अन्य कार्यक्रमहरू स्थगित गरिएको हो ।

प्रहरी दिवसको अवसरमा देशभरका सम्पूर्ण प्रहरी कार्यालयहरूमा एकसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ । श्रद्धाञ्जलीका क्रममा संगठनको झण्डा आधा झुकाइने परम्परा यस वर्ष पनि कायम रहनेछ । नागरिक सक्रियतामा क्षति भएका कार्यालयहरूको पुनर्स्थापना भइरहे तापनि अन्य व्यवस्थापन र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि संगठनले यसरी मितव्ययी ढंगले दिवस मनाउन लागेको हो ।

नेपालमा सन् १९०५ मा कोतवाली प्रहरीको स्थापनाबाट प्रहरी सेवाको प्रारम्भ भएको थियो। विसं २०१२ सालमा प्रहरी ऐन जारी भएपछि यसले प्रहरी संगठनको औपचारिकता पाएको हो । कोतवाली प्रहरीको सेतो फेटावाला जत्थाले तत्कालीन समयमा केही पहाडी जिल्लामा शान्ति सुरक्षाको व्यवस्था गर्दथ्यो । सेतो फेटावालपछि रातो फेटावाल, मिलिसिया पुलिस, चौकीदार, अमिनी पुलिस, राजदल जम्दार, रामदल, अप्रेन्टिस पुलिस हुँदै २०१२ सालमा नेपाल पुलिस फोर्स गठन भएको हो। यसका संस्थापक प्रमुख जनरल नरसमशेर राणा हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री