काठमाडौं । जेनजी आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ।
आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असरलगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएमएफका आवासीय प्रतिनिधि प्रणव गुप्ता लगायतको टोलीबीच चेम्बर भवनमा आज छलफल भएको हो।
आईएमएफका आवासीय प्रतिनिधि गुप्ताले चेम्बर भवनमा अध्यक्ष अग्रवालसँग जेनजी आन्दोलनका क्रममा भएको क्षति र आर्थिक पुनरुत्थान सम्वन्धमा निजी क्षेत्रको तयारीबारे जिज्ञासा राखेका थिए।
नेपालमा हाल ४३ बिलियन डलर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३ प्रतिशत करिब १ दशमलव २५ बिलियन डलरको क्षति हुनसक्ने अनुमान गरिएको अध्यक्ष अग्रवालले बताए।
आन्दोलनपछि अर्थतन्त्रमा परेको असर तथा निजी क्षेत्रको पुनरुत्थानका लागि क्षतिग्रस्त भौतिक संरचनामा भन्सार तथा अन्य कर छुटको सुविधा, बीमा दावीबापत अग्रिम भुक्तानी यथाशीघ्र फस्र्योट गर्न निर्देशन तथा प्रभावित उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जालगायत सरकारले प्रदान गर्न लागेको नीतिगत सहजीकरणले निजी क्षेत्रलाई उत्साही बनाएको अध्यक्ष अग्रवालले बताए।
वर्तमान कठिन परिस्थितिमा निजी क्षेत्रले आत्मबल उच्च बनाएर सरकार र सरोकारवाला निकायसंग सहकार्य गरिरहेको उनले जानकारी गराए।
चेम्बर अध्यक्ष अग्रवालसँगको भेटका क्रममा आईएमएफका आवासीय प्रतिनिधि गुप्ताले नेपालको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।




