सुदन गुरुङको चेतावनी- ‘मलाई धम्क्याउन खोजियो, प्रतिकार गर्छु’

काठमाडौं । जेनजी आन्दोलनका चर्चित अगुवा सुदन गुरुङले आफूलाई सुरक्षा चुनौती बढेको र केही व्यक्तिले सिंहदरबारदेखि घरसम्मै पिछा गरिरहेको दाबी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

गुरुङले आफूलाई ‘फलो’ गर्ने व्यक्तिहरूले अत्यधिक मेहनत गरिरहेको भन्दै व्यंग्यात्मक शैलीमा भने, ‘अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भएजस्तो लाग्छ मलाई । मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या । हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई । कस्तो हाँसो उठिसक्यो मलाई ।’

उनले आफूलाई डराउने वा धम्क्याउने प्रयास नगर्न चेतावनी दिँदै प्रतिकारमा उत्रने संकेत पनि दिए । ‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है,’ उनले भने, ‘गुरुङ सोझो छ भनेर सोच्नुभएको होला। म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु । त्यही भएर तपाईंहरूलाई मेरो सजेसन- मेरो बाटोभन्दा टाढा बस्नू ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका गुरुङ प्रधानमन्त्री चयनदेखि मन्त्रीहरूको चयनसम्मका विषयमा प्रत्यक्ष सहभागी रहेको बताइन्छ । उनले केही दिनअघि पनि आफूलाई कसैले पिछा गरेको दाबी गरेका थिए ।

गुरुङले आफू कसैसँग नडराउने र देशका लागि काम गरिरहेको स्पष्ट पारे । उनले आफ्ना ‘फ्यान’हरूलाई देशलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ मेहनत गर्न सुझाव दिए । ‘यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला,’ उनले भने ।

उनले आफू र देशको बीचमा आउन खोज्ने जो कोहीलाई पनि गाह्रो पर्ने चेतावनी दिएका छन् । ‘मेरो देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री