काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष हेमराज ढकालले जेन-जी आन्दोलनका कारण मुलुकको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको बताएका छन् । यस आन्दोलनले सार्वजनिक र निजी क्षेत्र दुवैको ठूलो संरचनामा क्षति पुर्याउनुका साथै लगानीकर्ताको मनोबल घटाएको उनको भनाइ छ ।
मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् । उनले आन्दोलनपछि सरकारसँग भएको संवादमा लगानीकर्तालाई प्रोत्साहन गर्ने प्रतिबद्धता आए पनि भविष्यमा यस्ता घटना नदोहोरिने ग्यारेन्टी सरकारले दिनुपर्नेमा जोड दिए ।
उपाध्यक्ष ढकालले भने, ‘जेन-जी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ । आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गर्यौं । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौंला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ ? फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’
उनले निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि खर्च गरिरहेको भन्दै सरकारले विश्वास दिलाउन सक्नुपर्ने बताए। ‘हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ । अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ ढकालले थपे ।
उनले निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ढकालले केही समयअघि अर्थतन्त्रको वृद्धिदर राम्रै भए पनि त्यसलाई निरन्तरता दिन नसकिएको बताए । वर्तमान परिस्थितिमा अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकार र निजी क्षेत्रबीच समन्वय र ठोस कार्ययोजना अपरिहार्य रहेको उनको भनाइ थियो ।




