काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानले नयाँ तथ्यहरू सार्वजनिक गरेको छ । भदौ ३० गते साँझ सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार, रेश्मीकालाई जङ्गलतर्फ धकेलेर सडकबाट तल झारिएको थियो । अचेत अवस्थामा उनलाई बलात्कार गरिएपछि सलले घाँटीमा कसेर हत्या गरिएको मिश्रले जानकारी दिए । प्रारम्भिक चरणमा सामूहिक संलग्नताको हल्ला चले पनि विस्तृत अनुसन्धानपछि एक १६ वर्षीय किशोर मात्र यस घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । ती किशोरलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको छ ।
विवरणअनुसार, ती किशोर भदौ ३० गते साँझ जङ्गलमा कुरेर बसेका थिए । रेश्मीका कार्यालयबाट फर्किने क्रममा उनलाई पछाडिबाट धकेलेर सडकमुनि झारियो । सडकभन्दा तल जङ्गलतर्फको भिरालो जग्गामा रेश्मीकाले उम्किन पाइनन् । सडकभन्दा करिब डेढ सय मिटर तल धकेल्दै र घिसार्दै लैजाँदा रेश्मीका अचेत भएकी थिइन् । अचेत अवस्थामै किशोरले उनलाई बलात्कार गरे र त्यसपछि रेश्मीकाकै सलले घाँटीमा कसेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरी निरीक्षक मिश्रले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गर्दा पक्राउ परेका किशोर एक्लै घटनामा संलग्न रहेको पुष्टि भएको बताए । कानुनतः १८ वर्षभन्दा कम उमेरको भएकाले ती किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीले जनाएको छ । एक छोरीकी आमा रेश्मीका दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत थिइन् ।




