प्रधानमन्त्री कार्कीले गरिन् पाँच नयाँ मन्त्री सिफारिस, सोमबार शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम सिफारिस गरेकी छन् । आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन् ।

नयाँ मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्रा सिफारिस भएकी छन् । उनी हालसम्म स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव थिइन् र मन्त्री बन्ने सम्भावना देखिएसँगै आइतबार पदबाट राजीनामा दिएकी हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेलको नाम सिफारिस गरिएको छ । इमेज मिडिया ग्रुपका समाचार प्रमुख रहेका खरेल सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि मदन परियार सिफारिस भएका छन् । उनी विगतमा पनि सामाजिक अभियान र नीतिगत क्षेत्रमा संलग्न रहँदै आएका थिए ।

त्यस्तै, उद्योग तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दिने निर्णय भएको छ । सिन्हा यसअघि सर्वोच्च अदालतका न्यायाधीश भइसकेका छन् र अब कार्यकारी भूमिकामा ल्याइँदैछ ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमार्फत प्राविधिक, पेशागत र अनुभवी व्यक्तिहरूलाई समावेश गर्दै सरकारलाई कार्यक्षम र परिणाममुखी बनाउने रणनीति अघि सारेकी देखिन्छन् ।

नयाँ मन्त्रीहरूको शपथपछि सरकारको नयाँ संरचना स्पष्ट हुने र आगामी चुनाव, नीति तथा सेवा प्रवाहमा तीव्रता आउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री