काठमाडौं । नेपाली संस्कृति, परम्परा र मौलिक स्वादको जगेर्ना गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट ग्रुपले यही सोमबारदेखि शनिबारसम्म ‘दोस्रो पक्कु फेस्टिभल’ आयोजना गर्ने भएको छ। परम्पराको सम्मान, पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण गर्ने महान् लक्ष्य बोकेको यो फेस्टिभल महाराजगन्जस्थित प्रेसिडेन्ट सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्टको आयोजनामा हुँदैछ।
गत वर्षको सफल पहिलो संस्करणपछि यस पटक २०८२ सालको दोस्रो पक्कु फेस्टिभललाई थप भव्यताका साथ आयोजना गर्न लागिएको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष टीआर भण्डारी (शंकर) ले जानकारी दिए। यस मेलामा नेपाली मौलिक स्वादलाई विशेष प्राथमिकता दिइनेछ, जसमा अनुभवी मास्टर सेफहरूको पाककलाले नयाँ आयाम थप्नेछ।
अध्यक्ष भण्डारीले भने, ‘हाम्रो संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै पाककला र पक्कु खाजाको संस्कृतिको जगेर्ना गर्ने यो मेलाले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने महत्वपूर्ण अवसर दिनेछ।’ फेस्टिभलमा दशैंमा प्रयोग गरिने स्थानीय हस्तकला, परम्परागत बाजा र विभिन्न सांस्कृतिक परिकारहरू प्रदर्शनीमा राखिनेछन्। यसले आगन्तुकहरूलाई एकै छानामुनि नेपाली कला, संस्कृति र स्वादको अनुभव गराउनेछ।
आयोजकका अनुसार, यो मेला केवल आर्थिक कारोबारमा मात्र सीमित रहने छैन, बरु मनोरञ्जन, रहनसहन र खानपानको ज्ञान दिने एउटा बृहत् मञ्च बन्नेछ। यसले नयाँ पुस्तालाई आफ्नो परम्परासँग जोड्न उत्साहित बनाउनेछ भने अनुभवी पुस्तालाई आफ्ना संस्मरणहरू ताजगी दिलाउनेछ।
विशेषगरी शहरमा विभिन्न कारणले बसाइसराइँ गरेका र चाडपर्वमा गाउँ जान नसक्नेहरूलाई लक्षित गरी यो फेस्टिभल आयोजना गरिएको हो। यसले उनीहरूलाई दशैंको झल्को र गाउँको स्वाद शहरमै अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
स्वाद, स्वास्थ्य र आतिथ्यलाई मुख्य मन्त्र बनाउँदै २०६३ सालदेखि सुरु भएको प्रेसिडेन्ट ग्रुपको व्यावसायिक यात्रा अहिले १५औं वर्षमा प्रवेश गरिसकेको छ। हाल प्रेसिडेन्ट होटल रेस्टुरेन्ट, सेकुवा तथा मल्टी क्यूजिन रेस्टुरेन्ट र प्रेसिडेन्ट बेकरी गरी काठमाडौंका सुन्धारा, बालाजु, माछापोखरी, बत्तिसपुतली, महाराजगन्ज, रविभवन, एयरपोर्ट, चितवनको नारायणगढ र रूपन्देहीको लुम्बिनी महिलवारलगायत १६ स्थानमा प्रेसिडेन्ट ग्रुपले सफलतापूर्वक सेवा विस्तार गरिसकेको छ।




