नारायणगढ-मुग्लिन सडक : तुइन खोलामा खसेको पहिरोले १ सय मिटर सडक ढाक्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझदेखि खसेको विशाल पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ । निरन्तरको पहिरोले करिब १०० मिटर सडक ढाकेको र ठूला ढुङ्गा खसिरहेका कारण रातभर पहिरो पन्छाउन नसक्दा सयौँ यात्रु बिचल्लीमा परेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार, शुक्रबार साँझ ६ बजेदेखि सुरु भएको पहिरो रातभर पटक-पटक खसिरह्यो, जसले गर्दा सडक आवागमन पूर्ण रूपमा ठप्प भएको छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्ने यो स्थानमा झण्डै १०० मिटर माथिबाट पहिरो खसेको हो ।

आज बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु भएको छ । दुवैतर्फबाट एक/एक वटा लोडरले पहिरो पन्छाउने कार्य थालेका छन् भने नारायणगढतर्फबाट सेती दोभान क्याम्पमा रहेको अर्को स्काभेटर पनि घटनास्थलमा पठाइएको प्रमुख लामिछानेले जानकारी दिए । प्रमुख लामिछानेले पहिरो ठूलो रहेको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा करिब चार घण्टाभित्र सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरेका छन् । यद्यपि, निरन्तरको जोखिमले गर्दा समय लाग्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

पहिरोले सडक अवरुद्ध भएपछि शुक्रबार साँझ ६ बजेदेखि नै यात्रुहरू सडकमा अलपत्र परेका छन्। सवारी साधन चल्न नसक्दा धेरै यात्रुहरूले रातभर सडकमै बिताउन बाध्य भएका छन्, जसले गर्दा उनीहरूले ठूलो असुविधा भोग्नुपरेको छ । शुक्रबार दिउँसो पनि सोही स्थानमा पटक-पटक पहिरो खसेको थियो, जसलाई पन्छाएर सवारी सञ्चालन गरिएको थियो। तर, साँझ झन् ठूलो पहिरो खसेपछि स्थिति झनै गम्भीर बनेको हो ।

पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तरको वर्षाले गर्दा नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढेको छ । यस सडकखण्डमा यात्रा गर्ने यात्रुहरूलाई विशेष सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप