संविधान बाहिरको समाधानले अस्थिरता निम्त्याउँछ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालको संविधान नेपाली जनताको लामो सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले संविधानको सफल कार्यान्वयनबाटै मुलुकमा लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायको सुनिश्चितता हुनेमा जोड दिएका छन् ।

सभापति देउवाले संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान नेपाली काँग्रेसको नेतृत्वमा जनताका निर्वाचित प्रतिनिधिहरूद्वारा निर्मित भएको स्मरण गराए । उनले यसलाई पटक–पटकका क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको उपजका रूपमा व्याख्या गरे ।

संविधान दिवसको यस पवित्र अवसरमा देउवाले लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक, मानव अधिकारमैत्री र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने सङ्कल्प दोहोर्याए । पूर्वप्रधानमन्त्री देउवाले संविधानको संरक्षण, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थायित्व र मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन संविधानले महत्त्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले संविधानलाई मुलुकको सर्वोच्च कानुनका रूपमा स्वीकार गर्दै कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्नेमा जोड दिए। ‘यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ,’ देउवाले आफ्नो सन्देशमा भने, ‘वर्तमान संविधानको सफलतासँगै हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प नै आज हामी सबैको साझा दायित्व हो ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री