ओलीको अपील- ‘संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं, नत्र पछुताउनेछौं !

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सातौँ संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले हालैका हिंसात्मक घटना र सिंहदरबार जलाइएको, नेपालको नक्सा मेट्ने प्रयास भएको जस्ता कार्यको भत्र्सना गर्दै यसमाथि छानबिनको माग गरेका छन् ।

ओलीले नेपाली जनताले ७० वर्षको संघर्षपछि आफैंले निर्वाचित संविधानसभाबाट संविधान जारी गरेको दिनलाई लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको ऐतिहासिक दिनका रूपमा स्मरण गरे । उनले संविधान निर्माणका क्रममा भोगिएका चुनौती, विशेषगरी नाकाबन्दी र सार्वभौमसत्तामाथिको चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको बताए । ‘नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो,’ उनले भने ।

ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा संविधान जारी भएपछि नेपाललाई भूजडित बनाउन उत्तर-दक्षिण जोड्ने यातायात संरचनाहरू निर्माण गरिएको र उत्तरी छिमेकी देशसँग यातायात पारवहन सम्झौता गरिएको उल्लेख गरे । यसबाट नेपालको सार्वभौमसत्ताको सामर्थ्य विस्तार भएको र अर्थतन्त्र तंग्रिँदै गएको उनको भनाइ थियो । 

यद्यपि, उनले गत साता जेन-जीको शान्तिपूर्ण भनिएको प्रदर्शनमा ‘घुसपैठ’ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएर युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे । उनले सरकारले प्रदर्शनकारीलाई गोली हान्ने आदेश नदिएको र प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गरे । ‘दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भने ।

उनले आफ्नो राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको र देशको निशानी मेटाउने प्रयास भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय र नेता कार्यकर्ताको घर तथा व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको अध्यक्ष ओलीको शुभकामनामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री