काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै तत्कालीन सरकारले जेन-जी आन्दोलनका प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट पारेका छन् ।
उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलेको भन्दै घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेका छन् । ‘त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु,’ ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
ओलीले आफ्नो नेतृत्वमा संविधान जारी भएपछि नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन धेरै काम भएको स्मरण गरे । उनले उत्तरी छिमेकी देशसँग यातायात पारवहन सम्झौता गरिएको र उत्तर-दक्षिण जोड्ने यातायातका संरचनाहरू बनाइएको बताए । ‘हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्ग्रँदै थियो,’ उनले भने ।
पूर्व प्रधानमन्त्री ओलीले जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना र त्यसमा प्रयोग भएका हतियारबारे छानबिनको माग गरेर एकपटक फेरि राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेका छन् । उनले संविधान दिवसको अवसरमा राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि सबै नेपालीलाई एकजुट हुन पनि आह्वान गरेका छन् ।



