काठमाडौं । संविधान दिवसको ११ औं वार्षिकोत्सव मनाइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न सम्पूर्णमा अपिल गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान जेनजी आन्दोलनले यस पटकको संविधान दिवसलाई थप मौलिक र विशेष बनाएको उल्लेख गरे । ‘हामी यतिवेला ११ औँ संविधान दिवस मनाउँदै छौँ, यो जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिका बिचमा मनाइँदै छ,’ प्रचण्डले भने, ‘यही नै यस पटकको मौलिकता र विशेषता हो जस्तो लाग्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्ने ऐतिहासिक बिन्दुमा आइपुग्न करिब ७० वर्षभन्दा लामो संघर्षपूर्ण यात्रा तय गर्नुपरेको स्मरण गराए । यस अवधिमा भएका थुप्रै आन्दोलनहरूमध्ये जनयुद्धको महत्त्वपूर्ण योगदानलाई भुल्न नहुनेमा उनले जोड दिए । ‘यसक्रममा जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न सक्नुपर्छ,’ उनले भने ।
प्रचण्डले संविधान निर्माण प्रक्रिया जटिल र चुनौतीपूर्ण रहेको बताउँदै केही राजनीतिक शक्तिहरू दलित, महिला, मधेसी, कर्णाली, मेची, महाकाली लगायतका पहिचानसहितको समावेशी संविधान निर्माणका पक्षमा नरहेको आरोप लगाए । उनले आफू वर्तमान संविधानलाई अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको दोहोर्याउँदै ठूला दलहरूको ‘अहंकार’का कारण अहिलेको राजनीतिक अवस्था सिर्जना भएको विश्लेषण गरे ।
‘अरू कुराका अतिरिक्त त्यसबेला अहिले ठूला भन्ने पार्टीका नेतालाई प्रधानमन्त्री अफर गर्नुपर्ने बाध्यतामा परेको स्मरण गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘यदि मैले उनीहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने ठाउँमा ल्याइनपुर्याएको भए के हुन्थ्यो होला ? अहिले पनि मेरो दिमागमा ती घटनाक्रम घुमिरहेको छ ।’ उनले आफूले चाहेजस्तो संविधान बनाउन सकेको भए सायद अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था नआउन सक्ने तर्क गरे ।
संविधान निर्माण प्रक्रियामा आफूले ठूलो दबाब र धम्कीको सामना गर्नुपरेको स्मरण गर्दै प्रचण्डले ऐतिहासिक परिवर्तन र उपलब्धिहरूको रक्षाका लागि सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरे । उनले संविधान दिवस केवल एउटा पर्व मात्र नभई नेपाली जनताको लामो संघर्षको प्रतिफल भएको भन्दै यसको रक्षा र थप परिमार्जनका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे ।



