काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने खबरलाई ‘कपोकल्पित र भ्रामक’ भन्दै त्यसको खण्डन गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले यस्ता भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३ र २४ गते जेन-जी आन्दोलनको आडमा विभिन्न समूहले पार्टी कार्यालय र नेताहरूको निजी निवासमा आक्रमण गर्ने आपराधिक गतिविधि गरेका छन् । भदौ २४ गते त डकैती शैलीमा सभापति देउवाको निवासमै प्रवेश गरी उहाँ र उहाँकी धर्मपत्नीमाथि सांघातिक आक्रमण भयो ।’
सचिवालयले यो आक्रमण राजनीतिक प्रतिशोधका कारण भएको र देउवाको चरित्र हत्या गर्ने उद्देश्यले पैसा भेटिएको भ्रामक खबर फैलाइएको दाबी गरेको छ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
सचिवालयका अनुसार, देउवा निवासमा ‘अण्डरग्राउन्ड ट्याङ्की’ मा पैसाको सुरुङ भेटिएको भनी गरिएका दाबीहरू पूर्णतः गलत हुन् । उक्त ट्याङ्की पानी भण्डारणका लागि मात्र प्रयोग हुने गरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । साथै, विभिन्न समयमा अन्यत्र जलेका नोटका दृश्यहरू जोडेर यूट्युब तथा सामाजिक सञ्जालमा सम्पादन गरी देउवा निवासको घटनाका रूपमा प्रचार गरिएको पनि सचिवालयले उल्लेख गरेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता भ्रामक प्रचारमा विश्वास नगर्न आम नेपाली जनता, कांग्रेसका सदस्यहरू र शुभेच्छुकहरूलाई हार्दिक अनुरोध गरिएको छ ।





