तोडफोड र आगजनी गर्नेको भिडिओसहित एनसेलले दियो प्रहरीमा उजुरी

काठमाडौँ । एनसेलले जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा उजुरी दर्ता गराएको छ ।

काठमाडौँको लैनचौर स्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी प्रदर्शनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठुलो क्षति पुगेको भन्दै सोमबार उजुरी दर्ता गराएको हो ।

उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ ।

आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरुलार्ई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यालयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको, कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोस्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महँगा मोटर गाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालै पालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारी साधन भवनको कम्पान्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठुलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्याङ्कनको कार्य भइरहेको हुँदा अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने पनि जानकारी सो उजुरीमा खुलाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री