काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले मन्त्रीको पदबाट प्राप्त हुने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि घिसिङले औपचारिक रूपमा मन्त्रालयको पदभार सम्हाल्नुअघि जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई भेट्न अस्पताल पुगेका थिए । मानवता र संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै उनले पहिलो प्राथमिकता पीडित परिवारप्रति देखाए ।
अस्पतालबाट फर्किएपछि ऊर्जा मन्त्रालय पुगेर पदभार ग्रहण गरेका घिसिङले पहिलो निर्णय स्वरूप मन्त्रालयका डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाउने निर्देशन दिए ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले आफूले मन्त्रीको रूपमा पाउने तलब, भत्ता, सुरक्षालगायत सुविधा नलिने घोषणा गरे । उनले भने, ‘मैले पाउने सबै सेवा सुविधा सहिद परिवारको नाममा स्थापना गरिने कोषमा जम्मा गर्नेछु ।’
साथै उनले आफूलाई ‘माननीय’ जस्तो सम्बोधन नगर्न आग्रह गर्दै जनताका सेवकका रूपमा काम गर्ने स्पष्ट संकेत दिएका छन् ।




