काठमाडौं । जेनजी आन्दोलनले सत्ताको बागडोरबाट एमालेलाई च्यूत गराएपछि महासचिव शंकर पोखरेलले आत्ममन्थन सुरु गरेका छन् । हठात् सत्ता गुमाउनुको पीडामा अरूलाई दोष देखाउनुको सट्टा आफ्नै गल्तीबाट पाठ सिक्नुपर्ने निष्कर्षमा उनी पुगेका छन् ।
फुर्सदका क्षणहरूमा डा. भेषबहादुर थापाको कालजयी कृति ‘राष्ट्र-परराष्ट्र’ पढेपछि पोखरेलले यस्तो बताएका हुन् । थापाको भनाइ उद्धृत गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन् । त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाइरहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ । बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफ्नै भूल गरेपछि मात्र सिक्छन् । अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन् ।’
यो अभिव्यक्ति प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री चयन गरेको दिन आइतबार राति पोखरेलले सार्वजनिक गरेका हुन् । जेनजी आन्दोलनको रापले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश (गैरसांसद) सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बनेकी छन् ।



