काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकारको गठन भएसँगै संयुक्त राज्य अमेरिकाले नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले गत हप्ताका दुखद घटनाहरूपछि शान्तिपूर्ण समाधान निस्किएकोमा स्वागत गर्दै अन्तरिम सरकारसँग नजिक रहेर काम गर्न तयार रहेको जनाएको हो ।
दूतावासले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिलाई सकारात्मक रूपमा लिएको छ । यसका साथै, दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूले लोकतान्त्रिक समाधानका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ । ‘यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ छौँ,’ दूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।’
अमेरिकी दूतावासले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अन्तरिम सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ । यसले नेपालको लोकतान्त्रिक प्रक्रिया र सुशासनलाई थप बलियो बनाउन अमेरिकाको निरन्तर समर्थन रहने सन्देश दिएको छ ।



