स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को नयाँ सरकारसँग सहकार्यको प्रतिबद्धता

काठमाडौं । जेन–जी युवा आन्दोलनपछि नेपालमा गठित नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले प्रतिबद्धता जनाएको छ । इप्पानले प्रधानमन्त्रीमा नियुक्त शुशीला कार्कीलाई हार्दिक बधाई दिँदै देशको आर्थिक समृद्धिमा ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त पूर्व प्रधानन्यायाधीश कार्कीको कार्यकाल ऊर्जा उद्यमीहरुका लागि स्वर्णिम हुने अपेक्षा इप्पानले गरेको छ । विभिन्न समस्या र चुनौतीका बाबजुद ऊर्जा क्षेत्रमा लगानी गरिरहेका उद्यमीहरुका लागि नयाँ सरकारको आगमनले सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास संस्थाले लिएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने अपेक्षा राखेको बताए । उनले भने, ‘हामी नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण बनाउने अपेक्षा गरेका छौँ । अहिलेको अवस्थामा देशको पुनर्निर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँग सहकार्य र सहयात्रा गर्न तयार छौँ ।’

अध्यक्ष कार्कीले ऊर्जा विकास र विस्तारका लागि हाल ऊर्जा उद्यमीहरुले भोगिरहेका समस्या र चुनौतीहरु समाधानमा नयाँ सरकार अग्रसर हुने अपेक्षा गरेको बताए । उनले ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले महत्त्वपूर्ण योगदान दिइरहेको र आगामी दिनमा अझ बढी योगदान दिन तयार रहेको पनि स्पष्ट पारे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री