जेनजी आन्दोलनले होटल उद्योगमा २५ अर्बको क्षति, २००० भन्दा बढी रोजगारी गुम्ने खतरा

काठमाडौं । जेनजी आन्दोलनले देशभरका होटल उद्योगमा गम्भीर क्षति पुर्‍याएको छ, जसले गर्दा २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति र २००० भन्दा बढी कामदारको रोजगारी गुम्ने खतरा बढेको होटल संघ नेपालले जनाएको छ। संघले तत्काल शक्तिशाली न्यायिक समिति गठन गरी क्षतिपूर्तिको व्यवस्था गर्न र होटलहरूको पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेको छ।

काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी र दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलहरूमा तोडफोड, आगजनी र लुटपाट भएको संघले विज्ञप्तिमार्फत जनाएको छ। विशेषगरी काठमाडौंमा रहेको हिल्टन होटलमा मात्रै आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ।

संघका अनुसार, यस आन्दोलनबाट प्रभावित होटलहरू मर्मत सम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा आउन सक्ने अवस्था छैनन्। यसले गर्दा दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजगारी प्रभावित भएको छ, जसले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पार्ने देखिएको छ। “हाल सञ्चालन अवरुद्ध भएका यी होटलहरूले व्यहोर्नु पर्ने बैंक तथा वित्तीय संस्थालगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न/बुझाउन असमर्थ रहने देखिएको छ,” संघले विज्ञप्तिमा भनेको छ।

निजी क्षेत्रमा भएको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको तत्काल शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट जाँचबुझ गर्न संघले माग गरेको छ। साथै, अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड र मर्मत सम्भार तथा पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्नेमा संघले जोड दिएको छ।

“लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व र समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटल संघ नेपाल माग गर्छ,” विज्ञप्तिमा भनिएको छ। यस घटनाले नेपालको पर्यटन उद्योगमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ, जुन देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। सरकारले यस विषयमा तत्काल ध्यान दिई आवश्यक कदम चाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री