संवैधानिक रूपमा निकास खोज्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले मुलुकको वर्तमान सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्दै शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधानका लागि राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक निकासका लागि तत्काल पहल गर्न आग्रह गरेको छ। महासङ्घकी अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिएकी छिन्।

मुलुकको निकासका लागि राष्ट्रपतिले जेनजी प्रतिनिधिलाई वार्ताका लागि आह्वान गरिसकेको सन्दर्भमा महासङ्घले सुरक्षा निकायलाई सहजीकरण गरी यथाशीघ्र आन्तरिक सरकार गठनको पहल राष्ट्रपतिबाटै हुनुपर्नेमा जोड दिएको छ। यस प्रक्रियाका लागि पत्रकार महासङ्घसहित छ वटा पेसागत सञ्जाल (पापड) सहजीकरण गर्न तयार रहेको पनि जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर छ। पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ।’

जेनजी पुस्ताले उठाएका संरचनात्मक सुधारका मागलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण र थप उपलब्धि हासिल गर्न जरुरी रहेको महासङ्घले औंल्याएको छ। महासङ्घले इतिहासको यो कठिन र निर्णायक मोडमा संयम र संवेदनशील भएर जिम्मेवार बन्न सबै सरोकारवाला पक्षलाई हार्दिक अपिल गरेको छ।

लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको महासङ्घले अहिले सरकारले राजीनामा दिएको र अर्को सरकार गठन हुन नसकेकाले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको भन्दै शीघ्र मुलुकको निकास खोज्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको युवा पुस्ताको प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

जनतालाई सुसूचित गर्न र शान्ति एवं लोकतन्त्रका लागि सधैं क्रियाशील रहने पत्रकारहरू र सञ्चारमाध्यमलाई प्रदर्शनकारीले निशाना बनाएकोमा महासङ्घले दुःख व्यक्त गरेको छ। अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाको निन्दा गरिएको छ।

यस जटिल घडीमा पत्रकार महासङ्घले राष्ट्रपतिको सक्रिय पहलकदमी र सबै सरोकारवाला पक्षबीचको सार्थक संवादबाट मात्रै मुलुकले वर्तमान सङ्कटबाट निकास पाउने स्पष्ट सन्देश दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री