काठमाडौँ । नेपालको निजी क्षेत्रले जेन जी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई नयाँ शिराबाट अघि बढाउनुको विकल्प नभएकोमा जोड दिएको छ । मुलुकभर युवा पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अब थप निराशा र अशान्तिको वातावरण सिर्जना हुन नहुनेमा सबै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), निर्माण व्यवसायी महासंघ, होटल संघ नेपाल (HAN) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) लगायतका प्रमुख संस्थाहरूले शान्तिपूर्ण आन्दोलनको सम्मान र अनावश्यक बल प्रयोग नगर्न सरकार तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।
महासंघको आह्वान: युवाका चासोमा संवेदनशीलता
नेपाल उद्योग वाणिज्य महासंघले युवा पुस्ताले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा देखाएको चासोप्रति सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सबैलाई संवेदनशील हुन हार्दिक आग्रह गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
“सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव छ,” महासंघले भनेको छ, “आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भई संवाद र सहकार्यका माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्छ।” महासंघले नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितताका साथै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन पनि आग्रह गरेको छ।
निर्माण व्यवसायी महासंघ: सुशासन र भ्रष्टाचारमुक्त समाजको परिकल्पना
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुक विषम परिस्थितिबाट अघि बढ्नुपर्ने स्थितिमा जेन जी पुस्ताको योगदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाजको सिर्जना गरिनुपर्ने बताएका छन्। उनले सही मान्छेहरूको चयन गर्दै मुलुकमा नेतृत्वका लागि अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
“अहिलेसम्म सबै राजनीति कर्मी, कर्मचारी, व्यवसायी सबैले आफ्नो सम्पत्तिको स्वघोषणा गरौँ र त्यसको स्रोत खुलाऔँ,” अध्यक्ष सिंहले भने, “स्रोत नखुलेको र गलत क्रियाकलापबाट आर्जन भएका सम्पत्तिहरूलाई जफत गरी सरकारीकरण गरौँ।” उनले हिजोको भ्रष्टाचार, नातावाद, कृपावाद र गलत क्रियाकलापलाई दण्डित गर्दै त्यस्ता चरित्रका सबै पात्रलाई बहिष्कार गर्न आह्वान गरेका छन्।
होटल संघ नेपाल: पर्यटन क्षेत्रको चिन्ता र समन्वयको पहल
होटल संघ नेपाल (हान) ले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्दका कारण पर्यटकको भ्रमण प्रभावित भएको भन्दै आवागमन सहज बनाउन सम्बन्धित निकायलाई तत्काल पहल गर्न आह्वान गरेको छ। संघले चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमा पर्यटक व्यवस्थापनमा प्राथमिकता नदिँदा अप्रत्याशित रूपमा अत्यधिक बुकिङ रद्द भएकोमा चिन्ता व्यक्त गरेको छ।
“परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाहरूको आत्माको चिरशान्तिको प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,” संघले विज्ञप्तिमा भनेको छ, “युवाहरूको बलिदानबाट प्रारम्भ भएको नयाँ भविष्य सफल बनाउन संवाद तथा वार्तासहितका सबै प्रयासलाई परिणाममुखी बनाउन शुभकामना पनि व्यक्त गर्दछौँ।” हानले होटल र सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्तिको विनाश भन्दै थप क्षति हुन नदिन सबैमा संयमता अपनाउन आग्रह गरेको छ। संघले प्रभावित पर्यटक व्यवस्थापनका लागि पर्यटन बोर्ड र नेपाली सेनासँग सहकार्य गरिरहेको जनाएको छ।
इप्पान: युवा निराशा र स्वतन्त्र छानबिनको माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संवैधानिक निकाय तथा राज्यका कार्यहरू सीमित व्यक्तिकै स्वार्थमा निहित रहेर भ्रष्टाचार, कुशासन, भ्रष्ट नियुक्ति र पूर्वाधार प्रभावित पार्ने कामले युवाहरूमा चरम निराशा निम्त्याएको ठहर गरेको छ। इप्पानले युवाहरूमाथि भएको दमनको स्वतन्त्र र निष्पक्ष छानबिन समितिमार्फत छानबिन हुनुपर्ने माग गरेको छ।
“शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरू विरुद्ध गोली चलाउनु, संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको प्रत्यक्ष उल्लङ्घन हो,” इप्पानले भनेको छ, “त्यो अवस्था राजा ज्ञानेन्द्रको निरंकुश शासनकाल (२०६२/६३) मा २६ जनाको ज्यान गुमाएका जनआन्दोलनको स्मरण गराउँछ, जसरी फेरि १९ जनाको ज्यान गएको उद्दण्ड घटना खेदजनक हो।” ऊर्जा क्षेत्रले हजारौँ रोजगारी सिर्जना गरेको र पूर्वाधार विकासको मुख्य आधार भएकोमा जोड दिँदै इप्पानले घटना सम्बन्धी स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेको छ।
बैंकिङ सेवामा सहजता, डिजिटल कारोबारमा जोड
राष्ट्र बैंकको निर्देशनपछि वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म सीमित शाखा र कर्मचारीबाट सेवा प्रदान गर्ने भएका छन्। काठमाडौँ उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा र ललितपुर तथा भक्तपुरमा २/२ वटा शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन्। काठमाडौँ बाहिरका शाखाहरू भने स्थानीय सुरक्षा निकायसँगको समन्वयमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच, क्लियरिङ प्रक्रिया पूरै क्षमतासहित सञ्चालन गरिने भएको छ, जसले बैंकबीचको चेक कारोबार र भुक्तानी प्रणाली सहज हुने अपेक्षा गरिएको छ। रेमिट्यान्स विभाग पनि विदेशी मुद्राको विनिमयका लागि सीमित समयका लागि खोलिने जानकारी दिइएको छ। सार्वजनिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले एटीएम सेवा निरन्तर चलाइनेछ भने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, इसेवा जस्ता डिजिटल प्रणालीलाई अझै मजबुत बनाउन राष्ट्र बैंकले सबै बैंकलाई निर्देशन दिएको छ। वित्तीय प्रणाली बन्द हुँदा सर्वसाधारणको असन्तुष्टि बढ्ने र बजारमा अस्थिरता आउने भएकाले भुक्तानी कारोबारका गतिविधिमा जटिलता फुकाउन सहजीकरण गरिएको हो।




