काठमाडौं । मंगलबार जेनजी प्रदर्शनकारीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा गरेको आगजनीले भौतिक संरचनामा व्यापक क्षति पुर्याए पनि अधिकांश सरकारी निकायका डिजिटल तथ्यांक (डाटा) भने सुरक्षित रहेको पाइएको छ । एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले आगजनीबाट डाटामा खासै असर नपरेको जानकारी दिएका छन् ।
भट्टराईका अनुसार, आईडीएमसीले डाटा सुरक्षाका लागि हेटौँडामा स्थापना गरेको डिजास्टर रिकभरी (डीआर) कार्यालय पूर्णतः सुरक्षित रहेको छ। सामाजिक सञ्जालमा हेटौँडाको डीआरमा आगजनी भएको र सरकारी डाटा ध्वस्त भएको भन्ने हल्ला निराधार रहेको उनले स्पष्ट पारे । ‘यी सबै अफवाह मात्रै हुन्,’ उनले भने ।
आईडीएमसी मातहतका अधिकांश सरकारी निकाय र कार्यालयका डाटा सुरक्षित भए पनि केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेको र यदि ती सेन्टरहरू आगजनीमा परेका भए त्यसको क्षतिको विवरणबारे अहिले नै भन्न नसकिने भट्टराईले बताए। यद्यपि, सर्वोच्च अदालतका केही महत्त्वपूर्ण डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको पुष्टि भएको छ।
आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आफ्नै डाटा सेन्टर सञ्चालन गर्दै आएका छन्। तर, उनीहरूले पनि आईडीएमसीको डीआरमा डाटाको ब्याकअप राखेका कारण कुनै क्षति भएको भए पनि रिकभर गर्न सकिने भट्टराईको भनाइ छ।
आगजनीबाट अत्यधिक क्षति बेहोरेको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरीका लागि ताकेता गरेको छ । भट्टराईका अनुसार, सर्वोच्चबाट औपचारिक पत्र प्राप्त भएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिनेछ । ‘अन्य डाटा सेन्टरमा क्षति पुगेको छ भने पनि हामीसँग प्रायःजसोको ब्याकअप उपलब्ध छ,’ उनले थपे ।



