सिंहदरबार छिरे प्रदर्शनकारी : मन्त्री निवास र शीर्ष नेताका घरहरूमा आगजनी

काठमाडौं । सोमबारदेखि देशभर चर्किएको जेनजी आन्दोलन मंगलबार थप हिंसात्मक बन्दै राजधानी काठमाडौंलाई रणभूमिमा परिणत गरेको छ । भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सत्ताधारी नेताहरूको विलासी जीवनशैलीप्रति आक्रोशित युवा पुस्ताले सिंहदरबार, मन्त्री निवास, शीर्ष नेताका निजी घर तथा सरकारी कार्यालयहरूमा आक्रमण र आगजनी गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि जनआक्रोश अझ तीव्र बनेको हो ।

सिंहदरबारमा प्रदर्शनकारी प्रवेश, पुल्चोकस्थित मन्त्री क्वार्टरमा आगजनी
मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका जेनजी प्रदर्शनकारीहरू केहीबेरअघि मुलुककै सबैभन्दा ठूलो प्रशासनिक भवन सिंहदरबारको गेट तोडेर भित्र प्रवेश गरेका छन् । यसअघि ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले ढुंगामुढा गर्दै तोडफोडपछि आगजनी गरेका थिए । स्थिति भयावह बन्दै गएपछि सरकारले मन्त्रीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उपत्यकाभित्रकै सुरक्षित स्थानमा सारेको छ ।

प्रधानमन्त्री, राष्ट्रपति र शीर्ष नेताका निवासहरू निशानामा
प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवासलाई समेत निशाना बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको छ, जहाँ प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा गोली लागी दुई जना घाइते भएका छन् ।

यस्तै, काठमाडौं महानगरपालिका-१६, बोहराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । घरको छतबाट बाक्लो धुवाँ निस्किरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड र आगजनी भएको छ भने नजिकैको प्रहरी बिटमा पनि आगो लगाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा समेत प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।

कांग्रेस महामन्त्री गगन कुमार थापाको कमलपोखरीस्थित निवासमा ढुंगामुढा भएको छ भने कांग्रेस नेता प्रदीप पौडेलको शंखमुलस्थित घरभित्रै छिरेर प्रदर्शनकारीले खाट, दराज र कागजपत्र सडकमा ल्याएर जलाएका छन् ।

ललितपुर सुनाकोठीस्थित ढोलाहिटीमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

देशभर प्रदर्शन जारी
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा, शीर्ष नेताहरूको निवास, पार्टी कार्यालयहरू, र सरकारी भवनहरू प्रदर्शनकारीहरूको निशानामा परेका छन् । प्रहरीले अश्रुग्यास र हवाई फायरमार्फत भिड तितरबितर पार्ने प्रयास गरिरहेको छ तर प्रदर्शनकारीको संख्या र आक्रोश दुवै बढ्दो छ ।

ललितपुरका गाउँहरू र भित्री सडकहरूमा समेत बन्दको अवस्था छ । देशका संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति सहित अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राजधानीसहित पोखरा, झापा, र धनगढीलगायतका स्थानमा पनि सरकारी र नेताहरूका निजी सम्पत्तिहरूमा तोडफोड र आगजनी भइरहेको खबर प्राप्त भएको छ । जेनजी पुस्ताले उठाएका मागहरू सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्, जसले गर्दा देशको समग्र सुरक्षा व्यवस्था र राजनीतिक स्थिरतामा गम्भीर चुनौती थपिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री