विराटनगर । सुनसरीको इटहरीमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनले हिंसात्मक रूप लिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । घटनापछि इटहरी उपमहानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
दिउँसो इटहरीमा हजारौंको संख्यामा भेला भएका युवाहरूले सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र व्याप्त भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए । आगो निभाउन दमकल पुगे पनि प्रदर्शनकारीले अवरोध पुर्याएको बताइएको छ ।
आगजनीमा संलग्न केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरी लगेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । आक्रोशित भीडले इलाका प्रहरी कार्यालय घेराउ गरी ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार, प्रहरीले भीड नियन्त्रणमा लिन सुरुमा अश्रुग्यास र लाठीचार्ज गरेको थियो । तर, स्थिति अझै नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाइएको हो ।
अस्पताल स्रोतका अनुसार, गोली लागेर अन्दाजी २५ र ३० वर्षका दुई पुरुषको मृत्यु भएको छ । मृतकको पहिचान भने खुलिसकेको छैन । इटहरीस्थित विभिन्न स्वास्थ्य संस्थाहरूमा घाइतेहरूको उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।




