प्रदर्शनमा दमन भएपछि गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेसमा सरकारबाट बाहिरिन दबाब

काठमाडौं । राजधानीमा भएको जेनजीको विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनपछि नेपाली कांग्रेसभित्र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग चर्किएको छ । प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गृहमन्त्रीलाई तत्काल पदबाट हट्न वा पार्टीले उनलाई फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।

केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकलाई तुरुन्त राजीनामा दिन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्‍यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनु पर्‍यो । युवाहरुको मृत्युप्रति गृहमन्त्री लेखक उत्तरदायी हुनुपर्छ ।’

नेविसंघकी पूर्व नेता एलिजा ढकालले घटनाको कडा शब्दमा निन्दा गर्दै गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाहीको सहयोगी’ भएको आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘कुनै भवनको पर्खालको सुरक्षा कयौं मानिसहरुको ज्यान भन्दा महत्त्वपूर्ण होइन । तिमीहरुको निकम्मापनले आज कालो इतिहास लेखिएको छ । गृहमन्त्री ओली सरकारको तानाशाहीको सहयोगी बनेका छन् । नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र रगतको धब्बा लागेको सरकारबाट कांग्रेस तुरुन्त बाहिरिनुपर्छ ।’

कांग्रेसका अर्का नेता व्रितान्त खनालले पनि प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै पार्टीलाई तत्काल सरकारबाट बाहिरिन माग गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘अझै हेरेर बस्ने भए, हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं ।’

नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई ‘अपराधी’को संज्ञा दिँदै यस घटनाका लागि जिम्मेवार कसैलाई पनि माफी दिन नसकिने बताएका छन् । उनले भनेका छन्, ‘यो अपराधी सरकारको साक्षी बस्नेहरु अपराधीबाहेक केही हुन सक्दैनन् । हाम्रा बच्चालाई यसरी मार्ने अपराधीहरुलाई कुनै पनि हालतमा माफी दिन सकिँदैन । यो आन्दोलन अब हाम्रा बच्चाहरुको मात्र होइन हाम्रो पनि हो । पूर्ण ऐक्यबद्धतासहित हामी आन्दोलनको मैदानमा हुनेछौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री