काठमाडौँ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलनले डरलाग्दो मानवीय क्षति पुर्याएको छ । प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएसँगै कुल मृतकको संख्या १५ पुगेको छ ।
ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैगरी, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेस्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको ज्यान गएको स्वास्थ्य स्रोतले पुष्टि गरेको छ ।
घाइतेहरूको यकिन विवरण अझै प्राप्त भइसकेको छैन, तर मृतकको संख्याले घाइतेहरूको अवस्था पनि चिन्ताजनक रहेको सङ्केत गर्छ । जेनजी युवाहरूको आन्दोलनले हिंसात्मक मोड लिँदै जाँदा यसले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यस घटनाले देशभरका युवा वर्गमा तीव्र आक्रोश पैदा गरेको छ । सामाजिक सञ्जालमा सरकारको कदम र आन्दोलन नियन्त्रण गर्ने शैलीको चर्को आलोचना भइरहेको छ ।




