पोखरामा जेन-जी प्रदर्शन उग्र: एक घाइते, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

पोखरा । सामाजिक सञ्जालमाथि प्रतिबन्ध र देशव्यापी भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन-जी युवाहरूको आन्दोलनले पोखरामा उग्र रूप लिएको छ । काठमाडौंमा प्रहरीको गोली लागेर १४ जना जेन-जी प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित बनेका युवाहरूले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच तनावपूर्ण झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । यसैबीच, प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना युवा घाइते भएका छन् । घाइतेको उपचारका लागि अस्पतालतर्फ लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसको उल्लंघन गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शन झनै आक्रोशित बन्न पुगेको छ ।

काठमाडौंसँगै पोखरा, चितवन, झापा, मोरङ लगायतका प्रमुख शहरहरूमा जेन-जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउन र देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री