काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेलमा आयोजना गरेको संघीय १८ वटा अस्पतालको आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित जेसि कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने भरतपुर अस्पताल र भेरी अस्पताललाई पुरस्कृत गरिएको छ । यही १३ देखि १५ गतेसम्म चलेको यस कार्यक्रममा देशभरका संघीय अस्पतालहरूले आ-आफ्ना जेसि कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मन्त्रालयले सञ्चालन गरेको यस महत्त्वपूर्ण कार्यक्रममा ओ.सि.एम.सि.तर्फ भरतपुर अस्पताल र सामाजिक सेवा एकाइ तर्फ भेरी अस्पताललाई पुरस्कृत गरियो । दुवै अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र बिरामीमैत्री वातावरण निर्माणमा पुर्याएको योगदानको कदरस्वरूप यो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार वितरण समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू, अस्पतालका प्रमुखहरू र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । यस अवसरमा बोल्दै मन्त्रालयका प्रतिनिधिहरूले पुरस्कृत अस्पतालहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै उत्साहका साथ जनस्वास्थ्य सेवामा समर्पित रहन प्रेरणा दिएका थिए ।




