काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । आजको बैठकमा महत्वपूर्ण विधेयकहरूमाथि छलफल र प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची रहेको छ ।
बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ । यसपछि, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट पारित भई आएको ‘जलस्रोत विधेयक’ लाई सन्देशसहित टेबुल गर्नुहुने कार्यक्रम रहेको छ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकास क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण प्रस्ताव पनि प्रस्तुत हुनेछ । माननीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट प्राप्त संशोधनहरूका सम्बन्धमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक सँगसँगै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्दैछ । यस बैठकमा समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ ।




