चौथो ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ तथा ‘नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौं । नेपालको ऊर्जा, प्रकाश र विद्युतीय उपकरण उद्योगमा नवीनतम प्रविधि र उत्पादनहरूको संगम गराउने उद्देश्यका साथ चौथो ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक’ र ‘नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस’ अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा भव्यताका साथ सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको यस प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा यो बृहत् प्रदर्शनी सञ्चालन भइरहेको छ। नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघले यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिका निर्वाह गरेका छन्।

मिडिया स्पेस सोलुसन्स नेपालका अध्यक्ष श्रीजल भट्टराईले यसपटकको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी कम्पनीका स्टलहरू रहेको जानकारी दिनुभयो। स्टलहरूमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल, कन्डक्टर, नवीनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ।

अध्यक्ष भट्टराईका अनुसार, यस प्रदर्शनीले विद्युत, इलेक्ट्रोनिक्स र होम अप्लायन्सेस उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई आपसी साझेदारी, अनुभव आदानप्रदान र नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। विशेष गरी दशैंको अवसरलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनीले उपभोक्ताहरूलाई विभिन्न ब्राण्डका विद्युतीय सामग्रीहरू एउटै स्थलमा हेर्ने र मनपर्ने सामान खरिद गर्नसक्ने सुवर्ण अवसर प्रदान गर्नेछ।

तीन दिनसम्म चल्ने यस प्रदर्शनीले घरेलु कम्पनीका उत्पादनहरूलाई प्रवर्द्धन गर्ने अवसरका साथै अन्तर्राष्ट्रिय कम्पनीका नवीनतम प्रविधि र आविष्कारहरूबारे प्रत्यक्ष जानकारी पाउने अवसर सहभागी र दर्शक दुवैलाई प्रदान गर्ने आयोजकको विश्वास छ। यसबाट नेपालको विद्युतीय तथा इलेक्ट्रोनिक्स बजारमा नयाँ ऊर्जा र प्रविधिको आदानप्रदान भई समग्र उद्योगको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री