काठमाडाैं । सिरहाको लहान नगरपालिका-१९ कटहा चोकबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भन्सार छली गरी ल्याइएको लत्ताकपडासहित एउटा भारतीय स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । बिहीबार सशस्त्र प्रहरीले गरेको विशेष चेकजाँचका क्रममा करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छलीको लत्ताकपडा र करिब १५ लाख रुपैयाँ बराबरको स्कार्पियो गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लहानको गस्ती टोलीले बीआर ०१ पीबी ४६४२ नम्बरको भारतीय स्कार्पियो गाडीमा अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा फेला पारेको थियो । प्रहरीले गाडी रोकेर जाँच गर्न खोज्दा चालक तीव्र गतिमा गाडी भगाएर केही पर छाडी फरार भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएको लत्ताकपडा र स्कार्पियो गाडी आवश्यक कारबाहीका लागि लहानस्थित भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि र भन्सार छली रोक्न कडा निगरानी बढाएको जनाएको छ ।




