काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते रुपन्देही-३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । सोही सन्दर्भमा आज बिहान ७ बजेदेखि दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु भएको छ । यो निर्वाचन भोलि साँझ ७ बजेसम्म चल्नेछ ।
रास्वपाका सहमहामन्त्री विपिन आचार्यले जानकारी गराएअनुसार, यस चरणमा रुपन्देही-३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका सदस्यहरू तथा केन्द्रीय समिति सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । उनीहरूले पार्टीको मोबाइल एपमार्फत नौ जना उम्मेदवारमध्ये एक जनालाई मतदान गर्नेछन् । यदि कुनै पनि उम्मेदवार मन नपरेको खण्डमा ‘अफ द अभव’ (नाटा) विकल्पमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
आचार्यले उम्मेदवार छनोट विधिका लागि प्रारम्भिक निर्वाचनको कुल भाराङ्क ५० प्रतिशत रहेको बताए । यस ५० प्रतिशत भाराङ्कलाई तीन मुख्य पक्षमा विभाजन गरिएको छ:
-
रुपन्देही–३ का पार्टी सदस्यहरूको मतदानको भाराङ्क: ८० प्रतिशत
-
रुपन्देही–३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भाराङ्क: १० प्रतिशत
-
केन्द्रीय समिति सदस्यहरूको मतदानको भाराङ्क: १० प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै ‘डिजिटल डेमोक्रेसी’ लाई आफ्नो आधारभूत डीएनएका रूपमा अँगालेको आचार्यले बताए । उनले यस महत्त्वपूर्ण आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक आह्वान गरेका छन् ।
पहिलो चरण अन्तर्गतको ५० प्रतिशत मत भाराङ्क लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जेमिटि र समावेशी प्रक्रियाका आधारमा सम्पन्न भइसकेको आचार्यले जानकारी दिए । प्रारम्भिक निर्वाचनको परिणाम आएपश्चात् आगामी भदौ १५ गते उम्मेदवारको औपचारिक घोषणा गरिनेछ ।




